बागमतीका मेयर भरत थापाविरुद्ध चौथो मुद्दा दायर


काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध विशेष अदालतमा चौथो मुद्दा दायर भएको छ । यसअघि रोडाढुंगा र बालुवा उत्खनन गरी भ्रष्टाचार गरेको तथा बागमतीको कर्मैयामा ८० बिघा सरकारी जमिनमा आँपको विरुवा रोपेकोमा वन मुद्दा खेपेका थापाविरुद्ध आइतबार अर्को मुद्दा दायर भएको हो ।

सर्लाहीको चर्चित भरत ताल निर्माण गर्दा सरकारी अनुदान हिनामिना गरेको पाइएको छ । बागमती नगरपालिकाको राष्ट्रिय वन क्षेत्रमा पोखरी निर्माण गर्दा तीनै तहका सरकारबाट ५६ करोड ७१ लाख रुपैयाँ अनुदान लगेर हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार, निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तानलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

यस्तै, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका तत्कालीन इन्जिनियर निरञ्जन लामिछाने, हाल निलम्बित अर्का इन्जिनियर सागर पौडेल र निलम्बनमै रहेका नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । वन क्षेत्रमा पोखरी बनाउने गैरकानी काम गरेको र त्यसका नाममा सरकारी अनुदानसमेत हिनामिना गरेको अख्तियारको दावी छ । अनुदान लाने क्रममा पनि गैरकानुनी काम गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा गत बैशाख ७ गते सर्लाही जिल्ला अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको थियो ।