कांग्रेसमा किन एक ठाउँमा उभिँदैछन् यी ६ भाइ ?


काठमाडौं – विधानतः नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । १४औं महाधिवेशनपछि चुनिएको कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिँदैछ । कांग्रेस विधानमा चार वर्षमा नियमित महाधिवेशन गर्ने उल्लेख छ । काबुभन्दा बाहिरको परिस्थिति सिर्जना भएमा एक वर्ष कार्यकाल थप्न सकिनेछ ।


तर अहिलेको अवस्था हेर्दा कांग्रेसमा आगामी मंसिरमा १५औं महाधिवेशन हुनेमा शंका नै छ । पार्टी सभापति शेरबहादुर देउवा लगातार दोस्रोपटक सभापति निर्वाचित भएकाले तेस्रो कार्यकाल उठ्न पाउँदैनन् । त्यही भएर उनी आफ्नो कार्यकाल लम्बियोस् भन्ने चाहन्छन् । देशको राजनीतिक परिस्थितिअनुसार प्रधानमन्त्री केपी ओलीले सहमतिअनुसार पद हस्तान्तरण गरे भने अर्को असारमा देउवा प्रधानमन्त्री हुनेछन् ।


पार्टी सभापति अनि प्रधानमन्त्री भएपछि देउवाले के गर्लान् भन्ने अहिले सबैको चासो देखिएको छ । स्रोतका अनुसार पार्टी सभापति भएकै बेला प्रधानमन्त्री बन्न सफल भएमा देउवाले विधान संशोधन गरेर थप एक कार्यकाल कांग्रेसको नेतृत्व लिन चाहेका छन् । त्यही भएर अहिले देउवाको त्यो भित्री चाहना बुझेका उनी निकट नेताहरू गोलबन्द हुन थालेका छन् ।


कांग्रेसमा शेखर कोइरालाले फेरि एकपटक सभापतिमा उठ्ने तयारी थालिसकेका छन् । १४औं महाधिवेशनमा एकपटकका लागि सभापतिमा भोट मागेका शेखर अन्तिमपटक भन्दै मत माग्ने निर्णयमा पुगेका छन् । कांग्रेसमा महामन्त्री गगन थापाले पनि सभापतिको भित्री तयारी गरेका छन् । यस्तो अवस्थामा अहिले पार्टी सभापति देउवा निकट रहेका पूर्वपदाधिकारीहरू एक ठाउँमा उभिन थालेका छन् । जसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाशशरण महत छन् ।


यी ६ भाइ विगतमा पनि छलफलमा जुट्दै आएका छन् । आइतबार उनीहरू ललितपुरको सानेपामा छलफलमा बसेका थिए । कांग्रेसको १५औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको सहभागी एक नेताको भनाइ छ । १५औंं महाधिवेशनमा देउवा सभापति उठ्न नमिल्ने भएपछि त्यो बेलासम्म देउवा समूहलाई एकढिक्का राख्ने र सभापति पदमा सहमतिमै उम्मेदवारी दिने गरी उनीहरूले छलफललाई तीव्रता दिइरहेको बुझिएको छ । कांग्रेसमा क्रयाशील सदस्यता नवीकरणका काम ढिलाइ हुँदा केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिकासमेत ल्याउन सकेको छैन । त्यसैले पनि कांग्रेस नेताहरू अझ एक वर्ष कार्यसमितिको कार्यकाल थपिनेमा निश्चिन्त छन् ।