रवि लामिछाने ४२ दिनपछि आज जेलबाट छुट्ने सम्भावना


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ। सर्वोच्चमा यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा सोमबार भने हेर्न मिल्ने इजलासमा पर्नेछ।
आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो।
बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटक(पटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनुवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाँल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ। त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी सोमबार हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय भएको हो।
सर्वोच्चको यस्तो आदेशपछि अब अहिलेसम्म उनको मुद्दा नहेर्ने न्यायाधीशको इजलासमा पेसी तोकेर सुनुवाइ हुनेछ । सम्भवतः सोमबार नै सुनुवाइ सकेर आदेश आउने बुझिएको छ । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा भएकाले रवि आजै छुट्ने सम्भावना छ ।