डेढ महिनापछि आज राष्ट्र बैंकले गभर्नर पाउने


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले गभर्नर नियुक्त गर्न सक्ने बुझिएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समिति संयोजकमा अर्थमन्त्री विष्णु पौडेल र सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी तथा पोषराज पाण्डे छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।

समितिले सिफारिस गरेका तीनजनामध्येबाट एकजनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्नेछ । गभर्नरका लागि डा.विश्वराज पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना र ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस हुने स्रोतले बतायो ।

एमाले र कांग्रेसबीच ठोस सहमति नहुँदा गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएको छ । कांग्रेसले गभर्नर आफूले पाउनुपर्ने अडान राखेको छ । तर प्रधानमन्त्री ओली अझै गभर्नर दिन तयार देखिएका छैनन् । डेढ महिनासम्म पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि सरकारले आजै निर्णय गर्ने नेताहरुको भनाइ छ ।