रसुवागढीको साढे सात किलो सुन र टोखाबाट बरामद २५ करोडको मालिक एउटै !


काठमाडौं – रसुवाको केरुङ नाकातर्फ लैजाँदै गरेको २५ करोड रुपैयाँ र आइतबार समातिएको साढे सात किलो सुनको मालिक एउटै हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गत ४ चैतमा टोखाको झोरमा बरामद २५ करोड रुपैयाँ बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साढे १ बजे गोसाइँकुण्ड गाउँपालिका– २ रसुवागढीबाट सुन बरामद गरेको हो । सुन तस्करीमा २५ वर्षीय किशोरकुमार भुजेल पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले केरुङबाट स्याउ लोड गरी नेपाल भित्रिएको बा.७झ ६२०१ कन्टेनरमा फल्सबटम बनाई सुन ल्याइएको बताए ।

प्रहरीका अनुसार पक्राउ पर्ने भुजेल कन्टेनरचालक हुन् । उनले स्याउसहितको कन्टेनर काठमाडौंतर्फ लैजाँदै थिए । सोही क्रममा उनी पक्राउ परेका हुन् । बरामद सुन क्याबिनतर्फ चालक सिटभन्दा माथि बनाइएको फल्सबटममा भेटिएको थियो । गत ४ चैतमा टोखाको झोरममा बरामद २५ करोड रुपैयाँ पनि क्याबिनतर्फ चालक सिटभन्दा माथि बनाइएको फल्सबटममै बरामद भएको थियो ।

जिप्रका रसुवाका प्रमुख डिएसपी हेमबहादुर शाहीले गत ४ चैतमा टोखाको झोरबाट बरामद २५ करोड रुपैयाँ तस्करी र आइतबार रसुवागढीमा बरामद सुन तस्करी गर्ने समूह एउटै भएको बताए ।

प्रहरीका अनुसार बरामद सुनको परिमाण सात किलो ६५३ ग्राम छ । सातवटा बिस्कुट र स–साना टुक्रामा विभाजन गरी सुन काठमाडौंतर्फ तस्करी हुँदै थियो । सुन, कन्टेनर र स्याउ रसुवागढीस्थित भन्सार कार्यालयमा बुझाइएको जिप्रका रसुवाका इन्स्पेक्टर राजु शाहले बताए ।

गत ४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखाको झोरबाट केरुङतर्फ लैजाँद गरिएको ना७ख १६५२ नम्बरको कन्टेनरमा विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो । जसको नेपाली दर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ थियो । घटनामा कन्टेनरचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा पक्राउ परेका थिए । पछि घटनाको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो ।

घटनामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका नारायण पौडेल संलग्न रहेको खुलेको थियो । पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएका थिए । तस्करीमा संलग्न पौडेल माओवादी नेता हुन् । उनी भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका सहोदर दाजु हुन् । राजकुमार माओवादीकै टिकटमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेस उम्मदवार पासाङनुर्बु शेर्पासँग पराजित भएका थिए ।

सोमबार प्रतिनिधिसभामा २५ करोड रुपैयाँको मालिकबारे प्रश्न उठेको छ । कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद भएको २५ करोड रुपैयाँमा कसको संलग्नता छ भन्नेबारे सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।