प्रधानमन्त्री ओलीले किन दिए बालेनको नाम काट्न निर्देशन ?


काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष बितिसकेको छ । यो तीन वर्षमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले एकपटक पनि मिडियालाई अन्तर्वार्ता दिएका छैनन् । अघिल्लो वर्षसम्म सार्वजनिक कार्यक्रममा फाट्टफुट्ट देखिने बालेन एक वर्षयता त्यस्ता कार्यक्रममा जानै छाडेका छन् । अर्थात् पब्लिक फेस गर्न उनले चाहेका छैनन् । यद्यपि जनतामा उनको क्रेज निकै छ ।

आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका बालेन संघीय राजधानी काठमाडौं महानगरका मेयर हुन् । तर राज्यले आयोजना गर्ने कुनै पनि कार्यक्रममा आउन छाडेपछि प्रधानमन्त्री केपी ओली उनीसँग रिसाएका छन् । प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले बालेनप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने गरेको टिप्पणी गरे। बालेन समिति सदस्य हुन् । तर बैठकमा जाने गरेका छैनन् । उनी सोमबारको बैठकमा पनि गएनन् । प्रधानमन्त्री ओलीले कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रममा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए।

‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो। कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ । कहिल्यै देखा पर्दैन । त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ,’ उनले भने, ‘आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइ राख्नुपर्ने ।

यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड को एकपटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर नआउने भए नाम नराख्नु होला ।’ स्थानीय तहको निर्वाचनअघिसम्म प्रधानमन्त्री ओली र बालेनको राम्रै सम्बन्ध थियो । तर चुनाव जितेदेखि बालेन ओलीप्रति आक्रामक हुँदै आएका छन् । बालेनले ओलीलाई लक्षित गर्दै दर्जनौं स्टाटस फेसबुकमा लेखेका छन् ।