गभर्नर नियुक्तिमा रस्साकस्सी : मन्त्रिपरिषद् बैठकअघि ओली–देउवा भेटवार्ता, अन्तिम निर्णय गर्दै एकजनालाई गभर्नर नियुक्त गर्ने


काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भेटवार्ता हुने भएको छ।

सोमबार साँझ ६ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकअघि दुई शीर्ष नेताबीच छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी अन्तिम निर्णयका लागि देउवा र ओलीबीच यो भेट हुन लागेको हो। गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच जारी रस्साकस्सीबीच हुने यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ।

निकट स्रोतका अनुसार कांग्रेसनिकट डा. विश्व पौडेललाई गभर्नर बनाउने विषयमा दुबै दलबीच सहमति जुटिसकेको छ। तर, अहिलेसम्म गभर्नर सिफारिस गर्ने समितिको बैठक भने बस्न सकेको छैन।

नियमअनुसार सिफारिस समितिले गभर्नरका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्छ, जसको आधारमा मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै एकजनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था छ।