प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा जवाफ दिने


काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले बताए। साथै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसअघि सरकारले यो विधेयकलाई अध्यादेशमार्फत ल्याएको थियो । तर सत्तारुढ र प्रतिपक्षी दलको विरोधका कारण सरकारले फिर्ता लिएको थियो । खासगरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले यो अध्यादेशमा आपत्ति जनाएको थियो । यादवले भूमि विधेयक पहिलेकै अध्यादेश जस्तै आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।