के आज रवि छुट्ने आदेश आउला ? न्यायाधीश सुवेदी र ढकालको इजलासमा पेसी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। यसअघि सो रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा पर्दा सुनुवाइ हुन सकेको छैन । लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् ।

आफूलाई थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेशविरुद्ध लामिछानेले दिएको निवदेनउपर पनि सँगै सुनुवाइ अघि बढाइएको छ। यसअघि हेर्न मिल्ने न्यायाधीशबिच मात्र गोलाप्रथा गर्न आदेश भएअनुसार स्थगित हुँदै आएकामा आज सुनुवाइ हुने सम्भावना छ।

सहकारीसँग आफ्नो कुनै सम्बन्ध नभएको र गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफूलाई पक्राउ गरेर राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको आरोप लामिछानेले लगाउँदै आएका छन्। रविले विभिन्न जिल्ला अदालतले दिएके आदेश बदर माग गर्दै सामान्य तारिखमा छाड्न उच्च अदालतमा निवेदन दिएका छन् ।