काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी लेखा समितिको प्रतिवेदनलाई लिएर चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आक्रोश व्यक्त गरेको छ । परियोजनाको ठेकेदार कम्पनी सीएएमसीले आफूमाथि गरिएको टिप्पणीलाई त्रुटिपूर्ण, तथ्यहीन, हचुवा र पूर्वाग्रही भन्दै आपत्ति जनाएको छ ।
सीएएमसीले मंगलबार विज्ञप्ति जारी गरेर विमानस्थलमा भ्रष्टाचार नभएको दाबी गरेको छ । राप्रपा अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थलमा आठ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमाथि सीएएमसीले असहमति जनाएको छ। ‘प्रतिवेदनमा हाम्रो कम्पनीसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा तथ्यसँग मेल खाँदैनन् ।
त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियाको गहिरो अनुसन्धान र वस्तुगत विश्लेषणको अभाव देखाउँछ, जुन हामीलाई अत्यन्तै आश्चर्यजनक र चिन्ताजनक लागेको छ,’ विज्ञप्तिमा भनिएको छ । विमानस्थल निर्माणका क्रममा जटिल भौगोलिक अवस्था, मुद्रास्फीति र कोभिड–१९ महामारी जस्ता चुनौतीहरूका बाबजुद मार्च २०२२ मै निर्माण सम्पन्न गरिएको र २९ डिसेम्बर २०२२ मा नेपाल र चीन सरकारबीच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । लेखा समिति प्रतिवेदनले ेनेपालमा मात्र होइन, चीनमा पनि सनसनी मच्चाएको छ ।

प्रतिक्रिया