ओली र देउवाबीचको भेटवार्तामा अर्थमन्त्री पौडेल पनि मिसिए


काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको हो। विशेष गरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायतका विषयमा छलफल भइरहेको छ । सोमबार देउवासँग भेटवार्ता हुने भनिए पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले देउवालाई ‘मलाई सञ्चो भएन, आज भेट नगरौ’ भनेका थिए। आफू अस्वस्थ भएपछि ओलीले सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए । ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा निर्धारित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

मंगलबार ११ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची थियो । सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री ओली उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।

ओली र देउवाबीचको छलफलमा अर्थमन्त्री विष्णु पौडेल पनि मिसिएका छन् । मंगलबार बिहान करिब ११ बजे देउवा बालुवाटार पुगेलगत्तै अर्थमन्त्री पौडेललाई बोलाइएको थियो । अर्थमन्त्रीसहित तीन नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गभर्नर नियुक्तिमा भएको ढिलाइले अविश्वास बढेको चर्चाका बीच अर्थमन्त्रीलाई समेत राखेर ओली र देउवाबीच छलफल भएको हो । गभर्नर सिफारिस समितिको संयोजक अर्थमन्त्री पौडेल छन् । अहिलेसम्म सिफारिश समितिको बैठक समेत बस्न सकेको छैन ।