स्वर्णिम वाग्लेले कांग्रेस छाडेपछि विश्व पौडेललाई गभर्नर बन्ने अवसर


काठमाडौं । कुनै भवितव्य भएन भने नेपाल राष्ट्र बैंकले मंगलबार गभर्नर नियुक्त हुने निश्चित छ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको छलफलपछि आजै सिफारिसलगत्तै नियुक्तिको सहमति भएको बताइन्छ ।

अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले अपराहन् ४ बजे बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक डाकेका छन् । अर्थमन्त्री पौडेल संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य रहेको समितिले तीनजनाको नाम सिफारिस गर्नेछ । त्यसमा कांग्रेसले अगाडि सारेको डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटेको छ ।

पौडेलपछि सिफारिस सूचीको २ र ३ नम्बरमा बैंकका डेपुटीहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको नाम हुने बताइन्छ । बुधबार नयाँ गभर्नर पौडेलले प्रधानन्यायाधीशसँग सर्वोच्च अदालतमा पद तथा गोपनीयतको शपथ लिएपछि पदबहाली गर्नेछन् । पौडेल गभर्नर नियुक्त भएपछि झण्डै डेढ महिनादेखि कायम मुकामय गभर्नरको जिम्मेवारीमा रहेकी ढुंगाना डेपुटीमा झर्नेछिन् । उनले आफूलाई बैंकको वेबसाइटमा अर्थसचिवभन्दा माथि राखेर सञ्चालक समितिमा वरिष्ठता कायम गरेकी थिइन् ।

अर्थविद् डा.स्वर्णिम वाग्लेले कांग्रेस छाडेपछि विश्व पौडेलको भाग्य चम्किएको हो । २०७९ को निर्वाचनमा पौडेलले चितवन १ बाट टिकट पाएका थिए । उनी रास्वपाका हरि ढकालसँग पराजित भए । तर वाग्लेले टिकट पाएनन् । वाग्लेलाई टिकट दिलाउन कांग्रेस महामन्त्री गगन थापाले निकै कोसिस गरे, तर सकेनन् ।

किनकि वाग्ले र बुढानिलकण्ठबीच सम्बन्धमा दरार आइसकेको थियो । कांग्रेस सभापति देउवाले वाग्लेप्रति नरम भए पनि आरज राणा देउवाले भने विश्व पौडेललाई च्यापेकी थिइन् । त्यही भएर स्वर्णिम कांग्रेस छाड्ने मनस्थितिमा पुगेका थिए ।

संयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ २ मा सांसदको सिट खाली भयो । वाग्ले कांग्रेस छाडेर रास्वपा प्रवेश गरी उम्म्ेदवार बने । र, चुनाव जिते पनि । वाग्लेले कांग्रेस छाडेपछि पौडेलको कांग्रेसमा हालीमुहाली भयो । कालान्तरमा उनै पौडेल गभर्नर नियुक्ति हुने डिलमा पुगेका छन् ।

पौडैल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत आर्थिक सल्लाहकार भइसकेका छन्।