काठमाडौं । कारोबारको तेस्रो दिन मगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ। राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने हल्लापछि सेयर बजारमा उछाल आएको हो । कांग्रेस र एमाले नेतृत्वबीच मंगलबार बिहान छलफल भएसँगै दिउँसो गभर्नर नियुक्त सिफारिस समितिको बैठक बोलाइएको छ।
त्यसलगत्तै मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार बाहिरिएपछि बजार एकोहोरो बढ्न थालेको हो। सत्तारुढ दलबीच डा.विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुटेको छ । नेप्से ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ। मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४ करोड रूपैयाँ कमी आएको हो। आज ३१० वटा धितोपत्रको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।
२२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र राप्ती हाइड्रोको मूल्य ९.९७ प्रतिशतले बढेको छ।
बाराही हाइड्रोपावरको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १०१ रूपैयाँ ६० पैसामा झरेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले बढेको छ। दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०१ प्रतिशतले बढेको छ।
प्रतिक्रिया