काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनका दाहिने हात मानिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पद धरापमा परेको छ । पदीय जिम्मेवारी र आचरणविपरीत कार्य गरेको भन्दै उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् ।
पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ । प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
मेयर बालेनसँगको विवादपछि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं चैत २९ गते महानगरमा हाजिर हुन आउँदा उनलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो । स्वयं पाण्डेले त्यसको नेतृत्व गरेका थिए । यही विषयमा डंगोलले प्रमुख प्रशासकिय अधिकृतमार्फत पाण्डेलाई स्पष्टीकरण सोधेकी हुन् ।
पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको छ । सात दिनभित्र दिनभित्र स्पष्टीकरण बुझाउन पाण्डेलाई निर्देशन दिइएको छ । स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा नगर प्रहरी बलको जिम्मेवारीबाट हटाउने भनिएको छ ।
सञ्चारमाध्यममा बयानबाजी गरेको, उपमेयर र अन्य जनप्रतिनिधिहरूसँग सवालजवाफ गरेर अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरेको र नियोजित रूपमा वातावरणलाई उत्तेजित बनाएर थप द्वन्द्व निम्त्याउने प्रयास गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।
प्रतिक्रिया