रविको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ सकिएन, हेर्दा हेर्दैमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको मागसहित सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ मंगलबार पनि सकिएन । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिट निवेदनमाथि सुनुवाइ जारी छ । मंगलबार रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गरेका थिए ।


गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक एवं पूर्वडीआइजी छविलाल जोशीको मुद्दा पनि सँगै राखेर सुनुवाइ भएकाले बहस लम्बिएको हो । मंगलबार सुनुवाइ नसकिएकाले बुधबार पनि जारी रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लैजान रविको भूमिका रहेको भन्दै जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाडेको थियो ।

तर उच्च अदालत बुटवलले धरौटी छाड्नु मनासिव नरहेको भन्दै जिल्लाको आदेश उल्टाउँदै रविलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । सोहीअनुसार अहिले रवि भैरहवा कारागारमा छन् । रविलाई गैरकानुनी रुपमा कारागार पठाइएको भन्दै उनकी पत्नी निकिताले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हालेकी थिइन् । छैटौंपटक हेर्न नमिल्नेपछि रविको मुद्दा मंगलबारदेखि सुनुवाइ भएको हो ।