काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एउटा तस्बिरलाई लिएर व्यापक आलोचना र टीकाटिप्पणी भइरहेको छ । माओवादीले थालेको मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जाजरकोट पुगेका प्रचण्डले पत्रकार डेकेन्द्र थापाको सालिकमा हात जोडेर श्रद्धाञ्जली दिँदै गरेको तस्बिरलाई लिएर उनको आलोचना भइरहेको हो ।
थापालाई माओवादीको १० वर्षे जनयुद्धका क्रममा मारिएको थियो । सेना र प्रहरीलाई सूचना दिएको आरोपमा माओवादी कार्यकर्ताले थापालाई मारेर खाल्डो खनेर गाडेका थिए । लामो समयपछि थापाको शव उत्खनन गरिएको थियो । तिनै पत्रकार थापाको सालिकमा प्रचण्डले हात जोडेर श्रद्धाञ्जली दिएपछि अहिले नाटक गरेको भन्दै उनलाई गालीको ओइरो लागेको छ । प्रचण्डले स्व.थापालाई श्रद्धाञ्जली मात्र दिएनन्, उनको घरमै पुगेर परिवारसँग कुराकानी पनि गरे ।
परिवारसँग कुरा गर्ने प्रचण्डको हिम्मतलाई भने धेरैले सराहना गरेका छन् । प्रचण्डले थापाको परिवारलाई आफूहरूबाट गल्ती भएको भनेर आत्मालोचना गरेका थिए । सो तस्बिरमा कमेन्ट गर्दै अहिले हत्या गर्नेले पुष्प चढाउँदैमा अपराध मेटिँदैन, यही हो त जनयुद्धको उपलब्धि, प्रचण्डले भनेको नयाँ नेपाल यही हो त भनेर उनको आलोचना भइरहेको छ ।
यसबीचमा प्रचण्ड तीनपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । तर पटक पटक सत्तामा जाँदा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने कुरामा उनले ध्यान दिन सकेनन् । अहिले जनयुद्धका पीडितहरूको घरमा पुगेर आँशु झार्नुको कुनै अर्थ नभएको पीडितका आफन्तको भनाइ छ ।
प्रतिक्रिया