आज पनि हुँदैछ रवि र छविको मुद्दामा सुनुवाइ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासमा बुधबार पनि सुनुवाइ हुँदै छ । मंगलबारबाट सुरु भएको सुनुवाइमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ११ वकिलले बहस गरिसकेका छन्, जसमा रमण श्रेष्ठको बहस आज सकिनेछ । त्यसपछि छविलालका वकिल र अन्त्यमा सरकारी वकिलको पालो हुनेछ । रवि र छवि दुवै बुटवलको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा हाल भैरहवा कारागारमा छन् । दुवैजनालाई कानुनविपरीत लामो समयसम्म कारागारमा राख्न खोजिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको थियो ।

रविको तर्फबाट उनकी पत्नी निकिता पौडेल र छविका तर्फबाट उनका छोराले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । तर रविको रिट निवेदनमा ६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेर मंगलबारबाट सुनुवाइ थालिएको हो । आज छविलाल जोशीका तर्फबाट कति वकिलले बहस गर्छन् त्यसबाट अदालतले आजै आदेश दिने वा नदिने तय हुनेछ । सुनुवाइ सकिए आजै आदेश आउने छ, नभए बिहीबार मात्र आदेश आउने सम्भावना पनि छ ।