काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दामा बुधबार सुनुवाइ स्थगित भएको छ । रवि र छविको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश डा.नहकुल सुवेदी संवैधानिक इजलासमा परेपछि आजको सुनुवाइ स्थगित भएको रास्वपा नेता प्रमोद न्यौपानेले अनलाइन टिभी नेपाललाई जानकारी दिएका छन् ।
मंगलबारबाट सुरु भएको सुनुवाइमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ११ वकिलले बहस गरिसकेका छन्, जसमा रमण श्रेष्ठको बहस आज सकिने थियो । त्यसपछि छविलालका वकिल र अन्त्यमा सरकारी वकिलको पालो थियो ।
रवि र छवि दुवै बुटवलको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा हाल भैरहवा कारागारमा छन् । दुवैजनालाई कानुनविपरीत लामो समयसम्म कारागारमा राख्न खोजिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको थियो ।
प्रतिक्रिया