काठमाडौं । वैज्ञानिक अभियन्ता महावीर पुन सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसका कारण यतिबेला चर्चामा छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई दुष्ट व्यक्तिको संज्ञा दिँदै पदबाट हटाउन माग गरेका छन् । ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो,’ पुनले लेखेका छन् ।
एउटा सम्मानित व्यक्तिले मन्त्री पदमा रहेका व्यक्तित्वविरुद्ध सामाजिक सञ्जालमा यसरी कडा आक्रोश किन व्यक्त गरे भन्ने अहिले चासो उत्पन्न भएको छ । महावीर पुन आफूलाई मनमा लागेको कुरा सिधै सामाजिक सञ्जालमार्फत व्यक्त गर्नेमा पर्छन् । पछिल्लो समय झ्यापझ्याप बत्ती निभ्न थलेपछि सर्वसाधारणसमेत ऊर्जामन्त्रीसँग रिसाएका छन् । खड्काले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि महावीर पुन रिसाएको बताइन्छ ।

प्रतिक्रिया