भारतभर फेरि फैलियो कोरोना संक्रमण, नेपालमा कस्तो गर्ला असर ?


काठमाडौं । छिमेकी देश भारतमा फेरि कोरोना भाइरस फैलिएको छ । झन्डै एक वर्षपछि भारतमा कोरोना संक्रमणका केस फेला परेका हुन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ । सिंगापुर र हङकङपछि भारतमा पनि कोरोनाका घटना बढेका छन्।

मुम्बई, चेन्नई र अहमदाबाद जस्ता सहरमा पनि संक्रमणको घटनामा वृद्धि भएको छ। तमिलनाडु, मुम्बई, पुडुचेरीमा १२–१२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। पहिले इन्फ्लुएन्जाका कारण हुने ज्वरोलाई अब कोभिडसँग जोडिएको छ। कर्नाटकका स्वास्थ्य मन्त्रालयले १६ जनामा कोभिड देखिएको छ। गुजरातको अहमदाबादमा एकै दिन सातजनामा कोरोना देखिएको छ। विश्व स्वास्थ्य संगठनले मे २०२३ मा महामारीको अन्त्यको घोषणा गरेको थियो ।

तर ठीक एक वर्षपछि कोभिड विश्वव्यापी रूपमा फैलिरहेको छ। कोभिड संक्रमण बढेसँगै स्वास्थ्य विज्ञहरूले सतर्क रहन सल्लाह दिएका छन्। भारतमा कोरोनाको जोखिम के हुन सक्छ र यो कति खतरनाक छ भन्ने बारेमा धेरैमा चासो बढेको छ । सन् २०१९ मा चीनको बुहानमा कोभिडको पहिलो केस फेला परेको थियो । त्यसबाट संसारभर लाखौं मानिसले ज्यान गुमाएका थिए । भारतमा कोभिडका केस दिनदिनै बढ्न थालेपछि नेपालमा पनि त्यसको असर पर्ने अनुमान गरिएको छ ।