भारतीय नेताको दौडधूप, नेपाललाई हिन्दु राष्ट्र बनाउने खेल


काठमाडौं । एक महिनाभित्रमा भारतबाट ६ जना ठूला नेताले नेपाल भ्रमण गरे । जसमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले, पूर्वमूख्यमन्त्री भगतसिंह कोस्यारी, विजय जोली, पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर, वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्दर यादव र कृषिमन्त्री एवं पूर्वमूख्यमन्त्री शिवराज चौहान छन् ।

उनीहरू सबैले नेपालका ठूला नेताहरूलाई भेट्ने अवसर पाए । भारतको सत्तारूढ दल बिजेपीका वरिष्ठ नेता विजय जोलीले त पत्रकार सम्मेलन नै गरे । उनले हिन्दु राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको र नेपालको लोकतन्त्र हिन्दू राष्ट्र बनाउदा झन उन्नत हुने विचार व्यक्त गर्दै आफूले सहयोग गर्ने बताए।

राजावादीले संवैधानिक राजतन्त्र पुनः स्थापना र हिन्दु राष्ट्र स्थापनाको आन्दोलन घोषणा गरेका बेला भारतीय नेताहरूको काठमाडौं आउजाउ र खुलेआम रूपमा हिन्दु राष्ट्र पुनःस्थापनामा सहयोग गर्नसकिने कुरा सामान्य होइन । जोलीले कांग्रेस सभापति शेरबहादुर देउवा पनि हिन्दु राष्ट्रको पक्षमा रहेको बयान मात्र दिएनन्, प्रधानमन्त्री केपी ओलीले भारतसँगको अन्तरबिरोधका बीच चितवनको ठोरीमा राम मन्दिर स्थापना गर्ने भनेको पनि स्मरण गरे।

उनले ८१ प्रतिशतभन्दा बढी हिन्दु रहेको नेपालका जनताबीच हिन्दु राष्ट्र घोषणा भए आफू त्यसमा सहमत र समर्थनमा रहने बताएका थिए। जोलीले भाजपाका विभिन्न तहका नेताको काठमाडौं दौडपछि अन्तिममा दिएको सन्देश थियो यो। बुधबार मात्रै कांग्रेस सभापति देउवाले ‘बेबी किङ’ को अवधारणामा आफू सहमत भएको भन्दै राजावादीले हल्ला पैलाउनु अनि भारतीय नेताको हिन्दु राष्ट्र पुनःस्थापनामा आफ्नो सहयोग रहेको पत्रकार सम्मेलन गरेर बताउँदा पनि कांग्रेस, एमाले र सरकार आफैं पनि मौन रहनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

हालै मात्र कांग्रेस नेता शेखर कोइरालाले जनमतसंग्रहमार्फत हिन्दु राष्ट्रको विषय टुंगो लगाउनुपर्ने बताउनु र कांग्रेसमा शंकर भण्डारीको नेतृत्वमा हिन्दूत्वको विषयमा बहस चल्नुले खेल अर्कैतर्फ गइरहेको संकेत गर्छ ।