नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले नेपाली कांग्रेसको सदस्यता दुई वर्ष पहिला नै त्यागिसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू प्राध्यापक भएसँगै पार्टी सदस्यता त्यागेको दाबी गरेका हुन् ।
‘दुई वर्ष अगाडि म प्राध्यापक भएर गएपछि नै म कांग्रेसको कुनै पनि समितिमा बसेको छैन म । सदस्यता छैन मेरो, दुई वर्ष अघिबाटै मैले छाडेको हो । चुनाव लड्नलाई सदस्यता चाहिँदैन । अघिल्लो दिन एउटा पार्टीको मान्छे अर्को पार्टीमा गएर चुनाव लड्छ,’– उनले भने ।
साथै, उनले आफू सबैले सम्झिँदा असल विवादरहित, दागरहित र बेइमानी काम नगरेको गभर्नको रुपमा चिनिन चाहेको बताए । देशको अर्थतन्त्र चलायमान बनाउन गभ्रनरको ठूलो भूमिका रहने बताउँदै उनले भने, ‘म सबैले सम्झिने खालको गभर्नर बन्न चाहन्छु । गभर्नरको धेरै महत्वपूर्ण भूमिका छ । हामीले खल्तीमा राखेको पैसाको भ्यालु, त्यसको सर्कूलेशनदेखि लिएर सबैमा गभर्नरको महत्व छ । मान्छेहरुले मलाई सम्झिँदाखेरी असल गभर्नर हो भनेर सम्झिउन भन्ने म चाहन्छु । कुनै विवाद नभएको, कुनै दाग नभएको र कुनै बेइमानी काम नगरेको गभर्नरको रुपमा सम्झिउन्,’– उनले भने ।
प्रतिक्रिया