नायिका विपना थापाले ‘ह्रस्व दीर्घ’पछि नयाँ फिल्म साइन गरेकी छिन् । उनले, ‘ह्रस्व दीर्घ’कै निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको फिल्म ‘अ बाट आमा’को शीर्ष भूमिकामा काम गर्ने पक्का भएको छ । विपनासँग चन्द्रले केही दिन अगाडि नै सहमती गरेका हुन् ।
विपनाको वरिपरी नै कथा घुम्ने निर्माणपक्षले बताएको छ । चन्द्रले नेपालमा अहिलेसम्म यस्तो इमोशनल फिल्म नबनेको दाबी समेत गरेका छन् ।
भदौबाट छायांकन सुरु हुने फिल्मलाई फागुनको १५ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । विपनाले फिल्मको कथा सुन्दा नै आफू भावुक बनेको र काम गर्न राजी भएको तर्क गरिन् । उनले भनिन्–‘यो फिल्मको कथा सुन्दा नै म निकै भावुक बनेकी थिएँ । यसको कथा निकै शक्तिशाली छ । मैले आमाको भूमिका यसअघि पनि गरेको छु । तर, यसको कथा म बयान नै गर्न सक्दिनँ ।’
विपनाले फिल्मको गीत सुन्दा पनि दर्शक भावुक बन्ने तर्क गरिन् । अभिमन्यू निरवीले लेखिरहेको यो फिल्मको थिम पोष्टर केही दिन अगाडि सार्वजनिक भएको थियो । फिल्मका अन्य कलाकार तथा प्राविधिक कोही पनि टुंगो लागेका छैनन् ।
भदौबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा रहेका चन्द्रले केही दिनमै सबै टिम फाइनल गर्ने बताए ।
प्रतिक्रिया