काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चिकालीन आन्दोलनको घोषणा गरेको छ । त्यसका लागि राजावादी समूहसँगै राप्रपा, राप्रपा नेपाल, नेपाल जनशक्ति पार्टीलगायत तयारीमा लागेका छन् । उनीहरूले दिनहुँजसो बैठक, गोष्ठी, छलफल गरिरहेका छन् ।
तर राजावादीको आन्दोलनमा कसैले पनि समर्थन जनाएका छैनन् । खासगरी, काठमाडौं उपत्यका मौन छ । जबसम्म काठमाडौं उपत्यका सडकमा ओर्लिदैन, तबसम्म कुनै पनि क्रान्ति वा परिवर्तन भएको देखिएको छैन । काठमाडौंवासीको नैतिक समर्थनसमेत पाउन नसकेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकार्यका लागि प्रस्ताव गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र पठाएर राजावादी आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका हुन्। रास्वपा पनि वर्तमान व्यवस्थासँग खुसी नभएको आफ्नो बुझाइ उल्लेख गर्दै सुवेदीले पत्रमा लेखेका छन्, ‘तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ।
आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनर्स्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ। संवैधानिक राजसंस्था, सनातन हिन्दूराष्ट्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौँ।’ रास्वपा गणतन्त्र र राजसंस्था दुबैको कित्तामा स्पष्ट खुलिसकेको छैन ।
आवश्यक परे निर्णय लिने, तर अहिले नबोल्ने भन्दै आएको रास्वपालाई सुवेदीले पत्रमार्फत राजावादी आन्दोलनका लागि सहकार्यको बुधबार प्रस्ताव पठाएका हुन्। कतिपय रास्वपा नेताहरूले आफ्नो तहबाट गणतन्त्रको पक्षमा वकालत गरिरहे पनि संस्थागत रूपमा भने बोलेको छैन। गणतन्त्रको पक्षमा नखुल्दा रास्वपाप्रति आलोचना हुने गरेको छ। रास्वपा सभापति रवि लामिछाने कारागारमा रहेकाले कुनै पनि नेताले निर्णय गर्नसक्ने अवस्था छैन ।
प्रतिक्रिया