लेखा समितिको बैठक तनावपूर्ण, युट्युबर बोकेर आएको भन्दै मोदीमाथि खनिए ऋषिकेश


काठमाडौं । सार्वजनिक लेखा समितिको बिहीबारको बैठक तनावपूर्ण बनेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच भनाभन भएपछि केही समय स्थिति तनावपूर्ण बनेको हो । सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि भनाभन भएको हो ।

सुरुमै सांसद मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापतिले रोक्नु दुर्भाग्य भएको बताए । ‘समिति मिनी पार्लामेन्ट हो । हामी विपक्षीमा छौं । हामीले बोलेका लागेका सार्वजनिक विषयका कुरा तपाईँ रोक्नुहुन्छ ।

यो दुर्भाग्य हो । हामीलाई प्रतिवन्ध लगाउन पाउनुहुन्न । यो प्रमुख प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा तपाईँहरू हुनु हुँदैन भन्नु हुन्छ । हामी तपाईँहरूको दास हो र ! माओवादी पार्टीले उठाएको कुरा हो नि त्यो,’ मोदीले भने । सोहीक्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न र भ्यूज बटुल्न खोजेको आरोप लगाए ।

पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिए । ‘तपाईलाई भ्यूज चाहिएको छ । मैले बोल्न पाउनु हुन्न कहिले भनेको छैन, अपव्याव्याख्या नगर्नुस् । तपाईलाई केही चाहिएको हैन, अहिले भरे युट्यूवमा समाचार चाहिएको त्यत्ति हो क्या ! तपाई २–४ जना मान्छे खिच्ने लिएर आउनुभएको छ ।

अहिले युट्यूव बनाएर बाहिर हाल्नुहुन्छ । त्यत्ति हो । हरेक दिन किन तपाईं बोल्नु हुन्छ भन्ने कुरा मलाई राम्रो थाहा छ ।पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको भन्दै स्टन्ट जारी राखे सञ्चारमाध्यमलाई नै कडाइ गर्ने चेतावनी दिए ।