राजसंस्थाबारे देउवाले कहीँ कतै केही बोल्नु भएको छैन : कांग्रेस


काठमाडौं । सत्तारुढ कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको भन्दै विश्वास नगर्न आग्रह गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी कसैको स्वार्थपूर्ति गर्न सभापति देउवाले बोलेको भनेर मिडियामा आएका समाचारबारे आपत्ति जनाएको छ ।

‘कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावनाविपरीत हो ।

जोसुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा छ । ऐतिहासिक जनआन्दोलन २०६२–६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट प्राप्त उपलव्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आग्रह गरेको छ । बुधबार देउवा हृदयेन्द्र शाह राजा बन्ने भए कांग्रेस सकारात्मक रहेको भन्ने केही मिडियामा समाचार आएको थियो । बुधबार नै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी आपत्ति जनाइसकेका छन् ।