आफूलाई गोरखा २ छाड्ने बाबुरामलाई प्रचण्डले भने– ‘बुद्धि नभाको डाक्टर’


काठमाडौं । राजनीति कतिसम्म कुरुप र विद्रुप हुँदो रहेछ भन्ने उदाहरण आफूलाई गोरखा २ निर्वाचन क्षेत्र छाड्ने बाबुराम भट्टराईलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बुद्धि नभाको डाक्टर’ भनेर खिल्ली उडाउनुले प्रस्ट पार्छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा नयाँ शक्ति नेपालका अध्यक्ष बाबुरामले आफूले सधैं जित्दै आएको गोरखा २ प्रचण्डलाई छाडेका थिए ।

चितवन ३ मा उम्मेदवारी दिने घोषणा गरेका प्रचण्डलाई सोही निर्वाचन क्षेत्रबाट रास्वपा सभापति रवि लामिछानेले पनि उम्मेदवारी दिने भएपछि उनी गोरखा २ पुगेका थिए । बाबुरामले आफ्नी छोरी मानुषीलाई काठमाडौं ७ बाट उठाउन माओवादीसँग तालमेल गरी गोरखा २ प्रचण्डलाई छाडेका थिए । कांग्रेसको भोटमा चुनाव जितेका प्रचण्ड चितवन ३ मै उठेको भए र रविले पनि उम्मेदवारी दिएको भए पराजित हुने निश्चित थियो । सांसद नै हुने थिएनन् ।

तर तिनै प्रचण्ड अहिले बाबुरामलाई मनपरी गाली गर्दै हिँडेका छन् । माओवादी मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत बुधबार रुकुम पूर्वमा आयोजित एक कार्यक्रममा प्रचण्डले बाबुरामको उछितो नै काढे । जहाँ पछिल्लो समय बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा रहेका माओवादी सेनाका पूर्वकमान्डर जितमान पुनलगायतका नेताहरू माओवादी प्रवेश गरेका थिए। सो अवसरमा प्रचण्डले अहिले बाबुराम खिइँदै खिइँदै पूरै प्रतिक्रियावादीसँग गएर मिलिसकेको भन्न भ्याए। ‘प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल ।

हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर। सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले,’ प्रचण्डले भने। नेता कार्यकर्ताले उठाएको माओवादी धार सबैसँग एकता हुनुपर्ने कुरामा प्रतिक्रिया दिँदै प्रचण्डले बाबुरामसँग एकता सम्भव नभएको आशयसहित बोलेका थिए। ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि । गोर्खामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले ल है अब चाहिँ यो चुनाव मात्रै होइन, अब पार्टी पनि एउटै बनाउने भनिएको थियो,’ प्रचण्डले भने, ‘तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुहुन्न ।

कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने बाबुरामको लागि ? कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे । अनि त्यस्तोसँग के गरी एकता गर्ने ?’ बाबुराम भट्टराईको सचिवालयले प्रचण्डलाई जवाफ फर्काएको छ। बाबुरामको सचिवालय सदस्य रेखी गुरुङले भनेका छन्, ‘प्रचण्ड व्यक्ति हुन् भने बाबुराम विचार। प्रचण्ड मात्र सत्ताका खेलाडी हुन् भने बाबुराम युग परिवर्तनको संवाहक। व्यक्ति केही समय जिउँछ, विचार अजम्बरी।

‘बाबुरामले आफ्नो क्षेत्र नछोडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद पनि बन्ने थिएनन् यो मानेमा बाबुरामलाइ सोझो र बुद्धि नभएको ठान्ने धेरै गोरखालीहरू मैले पनि भेटेको छु, सुनेको छु। आज बाबुरामले बनाएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा मर्निङवाक गर्दै बाबुरामप्रति खिसिट्युरी गर्नु प्रचण्डले आफ्नै इतिहासप्रति अट्टहास गर्नु हो ।’