एमालेको सिंगो नेतृत्व पोखरामा, युवा संघमा को आउला ?


काठमाडौं । एमालेनिकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अमरसिंह चौरमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि महाधिवेशनमा सहभगी हुनेछन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र पोखरा सभागृहमा हुनेछ। महाधिवेशनबाट अध्यक्ष, दुईजना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चाजना सचिवसहित एक सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।

महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ। महाधिवेशनका लागि देशभरबाट करिब दुई हजारजना प्रतिनिधिले भाग लिँदैछन्। युवा संघमा वर्तमान अध्यक्ष क्षितिज थेवे दोहोरिन खोजेका छन् । तर उनलाई नेतृत्व छाड्न भनिएको छ । अध्यक्षका लागि कृष्णहरि केसी र सुमन पुरीमध्ये एकको सम्भावना रहेको बताइन्छ ।

यनि चुनाव हुने भए दुवैले उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । तर पार्टी नेतृत्वले नै सर्वसम्मत छान्न भनेकाले कसको नाममा सहमति जुट्छ भन्न सकिने अवस्था छैन । एमाले युवा नेताहरु महेश बस्नेतलगायत अहिले सक्षम नेतृत्व ल्याउन लागिपरेका छन् ।