काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । राजावादी दुर्गा प्रसार्इं हिरासतमा पुगेपछि शाह आफैं मैदानमा आएका छन् । उनले पटकपटक राजावादी नेताहरूलाई भेटेर राजतन्त्र पुनः स्थापनाका लागि निर्देशन दिइरहेका छन् । अघिल्लो महिना काभ्रेको नगरकोटमा दुई दुईपटक राजेन्द्र लिङ्देन, कमल थापालगायतलाई मन्त्रणा गरेर पठाएका पूर्वराजाले बिहीबार आफैंले सञ्चालन गरेको सोल्टी होटलमा चार राजावादीलाई दर्शनभेट मात्र दिएनन्, लञ्च मिटिङ नै गरे ।
पूर्वराजाले राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, पूर्वपञ्च नवराज सुवेदीलाई खाना खुवाएर साढे दुई घन्टा छलफल गरेका थिए । पूर्वराजाले आन्दोलनको मोडालिटीबारे चासो राखेको नेताहरुको भनाइ छ । चैत १५ गतेको तीनकुने प्रदर्शनअघि पनि पूर्वराजाले दुर्गा प्रसाई र नवराज सुवेदीलाई निर्मल निवासमा दर्शनभेट दिएर आन्दोलन गर्न उक्साएका थिए ।
अहिले जेठ १५ को आन्दोलनअघि पनि पूर्वराजा शाहले यसरी नै सक्रियता अघि बढाएका छन् । तीनकुने घटनामा दुईजना मारिएको, ६० करोडभन्दा बढीको व्यक्तिगत र सरकारी सम्पत्ति आगजनी गरिएको थियो । जसले ले राजावादी आन्दोलनमा कालो पोतेको थियो । अबको आन्दोलन कस्तो हुने हो भन्न सकिने अवस्था छैन ।
राजावादीहरूको सक्रियता बढेसँगै सरकारले प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सधैँ संविधान विरोधी क्रियाकलाप भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले राजावादीलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘सधैँ संविधान विरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन,’ मन्त्री गुरुङले भने, ‘सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन ।
तर, अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ,’ उनले भने, ‘हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छौं । यो हाम्रो कमजोरी होइन। हामी डराएर गरेका हैनौँ। त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ ।’ संविधान विरोधी गतिविधिमा प्रतिबन्ध लगाउन सक्ने छुट संविधानले नै दिएको पनि मन्त्री गुरुङले दाबी गरे।
प्रतिक्रिया