हार्वर्ड विश्वविद्यालयमाथि लाग्यो यस्तो संगीन आरोप, ट्रम्पले रोके विदेशी विद्यार्थी भर्ना


काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले उथलपुथल ल्याउन छाडेका छैनन् । विभिन्न शक्तिशाली विदेशी राष्ट्रलाई आफूले भनेको मान्न लगाउन प्रयासरत ट्रम्पले देशमै पनि विभिन्न निर्णय गरेर हलचल ल्याइरहेका छन् । आफूले गरेका निर्णयको स्वदेशमा विरोध भइरहे पनि उनलाई केही फरक परेको छैन ।

ट्रम्प प्रशासनले अमेरिकाको सबभन्दा पुरानो हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिलाई रोक लगाइदिएको छ।अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेसन खारेज गरिएको उल्लेख गरेकी छन्।

हार्वर्डले हिंसा तथा यहुदीविरोधी भावना फैलन दिएको तथा उसका क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप नोमको छ । भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अब अन्य विश्वविद्यालयमा ट्रान्सफर लिनुपर्ने उनले सुझाव दिएकी छिन् । हार्वर्डले सरकारको उक्त कदम गैरकानुनी भएको प्रतिक्रिया दिएको छ।

हार्वर्डमा १४० भन्दा धेरै देशबाट विद्यार्थीहरू अध्ययन गर्छन् । ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ। गत शैक्षिक वर्ष हार्वर्डमा ६७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ।

उसको कुल विद्यार्थी सङ्ख्याको त्यो २७ प्रतिशत हो।सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलिएको छ । हार्वर्ड र ह्वाइट हाउसबीचको द्वन्द्वमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गोटीसरह व्यवहार गरिएको विद्यार्थीहरूले बताएका छन् । ट्रम्प प्रशासनले दर्जनौँ विश्वविद्यालयहरूमा छानबिन पनि गरेको छ ।