आज पनि रवि र छविको रिटमा सुनुवाइ हुँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा शुक्रबार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मंगलवारदेखि सुनुवाइ जारी छ । रविको पक्षका कानुन व्यवसायीले आफ्नो तर्फबाट सकेका छन् ।

रविको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्तलगायत ११ जनाले बहस गरेका छन् । रविको पक्षका वकिलले बहस सकेलगत्तै छविलाल पक्षका वकिलले बहस गरेका थिए । शुक्रबार सरकारी वकिलले बहस सकेपछि आदेश आउने नआउने निर्णय हुने छ । रास्वपा सभापति लामिछानेको बन्दी प्रत्यक्षीकरणसहित लगाउमा परेका तीनवटै निवेदनमा बिहीबार सरकारको तर्फबाट बहस गरेका वकिललाई न्यायाधीशले प्रश्नै–प्रश्न गरेका थिए ।

रवि र छविलाल जोशीलाई पक्राउ गर्नुपर्ने कारण, जिबी राईलाई अहिलेसम्म पक्राउ नगर्नुको कारणको आधार माग्दै प्रश्न गरेका हुन् । न्यायाधीश नहकुल सुवेदीले सहन्यायाधिवक्ता गोविन्द खनाललाई सोधेका थिए ‘जिबी राई नभेटिएकाले रवि र छविलाई पक्राउ गरेर आरोप लगाइएको हो ? उनलाई खोज्ने काम त अभियोजककै होला नि । कि जिबी नभेटिउन्जेल जसलाई पनि तिमीहरूले नै ल्याएका हौ भनेर अभियोग लगाइदिने ? तर, खनालले तथ्यपूर्ण आधार र तर्क भने पेस गर्न सकेनन् ।

जवाफमा खनालले भने, ‘समय लाग्छ नि श्रीमान् । खोज्ने काम हुँदै छ ।’ रवि र छविले सहकारीको रकम ल्याउन गरेको काम स्पष्ट नपारिएको भन्दै इजलासले सरकारी वकिललाई प्रश्न गर्‍यो । ‘रवि र छविले सहकारीको रकम ल्याउन ठ्याक्कै के काम गरे ? त्यस्तो ठ्याक्कै त केही उल्लेख छैन । अभियोजन गर्ने निकायले फौजदारी दायित्व गोस्वारामा (सोलोडोलो) एकमुस्ट ल्याउने हो र ? यो व्यक्तिले यो गर्‍यो, यसको आपराधिक दायित्व यो हो भन्ने स्पष्ट हुनुपर्छ होला नि ?’ न्यायाधीश सुवेदीको प्रश्न थियो ।