कस्तो छ ‘महानायक’को ‘नरसिंहाः अवतार’को ओपनिङ ?



फिल्म ‘नरसिंहाः अवतार’ आजबाट देशभरका हलमा रिलिजमा आएको छ । यो फिल्मबाट महानायक राजेश हमालले ८ वर्षपछि कमब्याक गरेका कारण पनि चर्चामा थियो । साथमा फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतले पनि दर्शकको ध्यान खिचेको थियो ।

बिहानैबाट हलमा दर्शकको चाप सुखद देखिएको छ । फिल्म हेर्नका लागि कलेजका विद्यार्थीदेखि विभिन्न वर्गका दर्शकहरु हलमा पुगेका छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

आठ वर्षपछि फिल्मको पर्दामा कमब्याक गरेका ‘महानायक’ राजेश हमाललाई हेर्न दर्शकहरु उत्साहित देखिएका छन् ।

फिल्म हेर्दै गर्दा राजेश हमालका हरेक दृश्यमा दर्शकको हुटिङले पनि उनीप्रतिको व्यग्र प्रतिक्षा पुष्टि हुन्छ । हलमा राजेश हमाल नपुगेपछि उनको खोजी पनि निकै भएको थियो । ‘महानायक’को कमब्याक फिल्म भएकाकारण पनि दर्शकहरुले यो फिल्मको व्यग्र प्रतीक्षा गरेको उनीहरुको प्रतिक्रियाबाट नै वुझ्न सकिन्छ ।

नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्मले पारिवारिक, प्रेम, विछोड, बदलाको कथा भन्छ ।