काठमाडौँ । अध्यागमन विभागमा भएको भिजिट भिसा प्रकरणले गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको चौतर्फी दबाब बढेको छ। कांग्रेसकै केही नेताले र रास्वपाले सार्वजनिक रूपमै उनको राजीनामा माग गरेका छन्।
कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। उनले अध्यागमन विभागमा भ्रष्टाचारको विषय उठिसकेपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु नै उपयुक्त हुने धारणा राखे । ‘अहिले मोरल स्टाटस के हो भने उहाँको नाम आइसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ,’ उनले भनेका छन् । तर कोइरालाको विचारलाई कांग्रेसभित्रको शक्ति संघर्षका रूपमा लिइएको छ ।
रास्वपाले पनि गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ । विगतमा रवि लामिछानेप्रति संसदमा धारणा राख्दै लेखकलृे पदमा बसेकामाथि प्रश्न पदबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति सम्झाउँदै रास्वपाले लेखकलाई राजीनामा दिन माग गरेको छ ।
गृहमन्त्री लेखकले आफूमाथि कुनै दोष देखिए राजनीति नै नगर्ने बताएका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने प्रमाणित भयो भने म पदबाट होइन, म राजनीतिबाट राजीनामा दिन्छु,’ उनले भनेका छन् ।
भिजिट भिसा प्रकरणमा विदेश जानेबाट दैनिक ५० लाखसम्म असुल्ने गरिएको भन्दै अध्यागमन प्रमुख तीर्थराज भट्टराई अनुसन्धानको दायरामा आएका छन् । उनलाई गृह मन्त्रालयले सरुवा गरिसकेको छ । उनी अख्तियारको छानबिनमा परेका छन् । उनीसँगै एक दर्जन कर्मचारीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया