काठमाडौं । राजावादीहरूले जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । त्यसका लागि राप्रपा, राप्रपा नेपाललगायतका राजावादीहरुले काठमाडौंमा घरदैलोका साथै अन्य तयारी गरिरहेका छन् ।
राजावादीहरूले चाँडै राजसंस्था फर्किने दाबी गरिरहेका छन् । यही हल्लाकै बीचमा पूर्वराजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन्। यो मन्दिर नारायणहिटी दरबार परिसरसँगै जोडिएको छ। यो मन्दिर राजपरिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजाअर्चना हुने धाम मानिन्छ। सोही मन्दिरको नामबाट नारायणहिटी दरबारको नामाकरण गरिएको हो।
हृदयेन्द्र केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए। अमेरिकाको बोस्टनमा मास्टर्स पढिरहेका उनी बिदामा नेपाल आएको बताइएको छ। नेपालमा राजसंस्था पुनःस्थापनको हल्ला चल्नु र पूर्वराजा ज्ञानेन्द्र नाति हृदयेन्द्रलाई लिएर नारायणहिटी प्रवेश गरेपछि अनेकथरी अनुमान गरिएको छ ।
प्रतिक्रिया