काठमाडौं । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने भएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सामाजिक सञ्जालमा फिडब्याक मागेका छन् । कर्मचारी विवादका कारण काठमाडौं महानगरपालिकाले बजेट नै अन्योलमा छ।
मेयर बालेनले भने आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ भन्दै फेसबुकमा फिडब्याक मागेका छन्। ‘आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ पृष्ठपोषण दिनुहोस्,’ उनले लेखेका छन्, ‘हामीलाई अनलाइनबाट पृष्ठपोषण प्रदान गर्नुहोस्। हामी तपाइका आवाजलाई नीति, बजेट र कार्यक्रममा समावेश गरेर कार्यान्वयनमा ल्याउनेछौँ।’
बालेनले यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी र सुझाव पृष्ठमा जाने बटन रहेको जानाउँदै पेजमा राखिएका २३ वटा शीर्षकमा प्राप्त सुझावहरूको विवरण पनि यही पृष्ठमा हेर्न सकिने बताएका छन् । नागरिकका चाहना, साझेदार, सरोकारवालाका अपेक्षालाई नीति, बजेट तथा कार्यक्रममा समेट्ने उद्देश्यले सुझाव तथा पृष्ठपोषण संकलनका लागि अनलाइन प्रणाली सार्वजनिक गरेको उनले लेखेका छन्।
‘पोर्टलमा महानगरको पहिचान, जीवन्तता, विकास र समृद्धि, आधारभूत आवश्यकताको पूर्ति, सामाजिक विकास, लक्षित वर्गका कार्यक्रम, पहुँचयुक्त सहरी सुविधा सेवा र सुविधा वितरणलगायत शीर्षक र उपशीर्षकहरू राखिएका छन्,’ उनले लेखेका छन्, ‘यी शीर्षकसँग सम्बन्धित वा शीर्षकले समेट्न नसकेका विषयमा पोर्टलको अन्त्यमा राखिएको ‘अन्य’ खण्डमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ।’ नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय तथा योजनाको विवरण जेठ १५ गतेभित्र पठाइसक्नुपर्ने बालेनले लेखेका छन् ।
महानगर प्रमुख बालेनको उपप्रमुख सुनिता डंगोल, अधिकांश वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसग सम्बन्धमा चिसोपन छ । बालेनको कोहीसँग पनि संवाद हुन सकेको छैन । सोही कारण समयमै बजेट आउनेमा अन्योल देखिएको हो ।
प्रतिक्रिया