काठमाडौं – सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेपछि रास्वपाको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ ।
केन्द्रीय समिति बैठक पार्टी कार्यालय वनस्थलीमा अपराह्न बस्ने बैठकमा पाँचवटा एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा सभापति लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसाकाण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डर, तेस्रो स्थापना दिवस र विविध एजेन्डामा छलफल हुने उनको भनाइ छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको थियो ।
रास्वपाले आगामी फागुनमा महाधिवेशन गर्ने नयाँ मिति सार्वजनिक गरेको छ । महाधिवेशनका लागि गर्नुपर्ने बाँकी काम र नेताहरूको जिम्मेवारी आजको बैठकले निर्णय लिन सक्ने नेताहरुको भनाइ छ । रास्वपाले सभापति, महामन्त्री, पार्टी प्रवक्ता जस्ता विषयमा निर्णय गर्नुपर्ने आवाज पनि उठ्दैछ । यद्यपि पार्टी उपसभापति स्वर्णिम वाग्लेले शनिबार रास्वपाको सभापति रवि लामिछाने नै रहेको बताइसकेका छन् ।
प्रतिक्रिया