ललितपुर । प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो बदनाम गर्न लागिपरेको बताएका छन् । उनले कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भने हल्ला फिँजाएको आरोप लगाए ।
एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा आइतबार पार्टी कार्यालय च्यासलमा ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी विदेशीहरुको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण रहेकोसमेत जनाए ।

‘उनीहरु खासमा कम्युनिष्ट थिएनन् । उनीहरुले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरुले भन्दा हाम्रा कतिपय साथीहरु हो कि भन्ने गलत बुझाइमा पर्छन्’, ओलीले भने, ‘कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो । त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारी रुपमा कम्बोडियामा मेरो ३२ अर्ब पत्ता लगाउन सकेनन्, पछिसम्म पार्टी कब्जामा लिएर बस्न खोजे,’ उनले भने ।
प्रधानमन्त्री ओलीले माओवादीले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरु पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गरे । ‘माओवादीको आतंकको छायाँमा हामीले २०६४ हारेको हो, अब न २०६४ साल आउँछ, न माओवादी आउँछ । यो मुलुकमा एमाले नै मजबुत पार्टी हो । एमालेहरुले आफ्नो यो पहिचान चिन्नुपर्यो । हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामथ्र्य छ । त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ । पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ का लागि जुटौँ,’ ओलीले भने ।
प्रतिक्रिया