गभर्नर पौडेलले गुणाकर भट्टलाई कार्यालय फर्काए, राजीनामा अस्वीकृत


काठमाडौं। गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिएर हिँडेका डा.गुणाकर भट्टलाई गभर्नर डा.विश्व पौडेलले कार्यालय फर्काएका छन् । गभर्नर पौडेलले भट्टले दिएको राजीनामा अस्वीकृत गरी गभर्नर कार्यालयमा जिम्मेवारी दिएका हुन् ।

भट्टलाई सत्ता साझेदार कांग्रेसले सुरुमा गभर्नर प्रस्ताव गरेको थयो। प्रधानमन्त्री केपी ओलीले सुरुमा भट्टको नाममा ‘हुन्छ’ भने पनि पछि मानेका थिएनन्। जसकारण तत्कालीन कामु गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी थिएनन् । गभर्नरमा चर्चा चलेपछि भट्टले राजीनामा गरेका थिए। आफूले दिएको राजीनामा स्वीकृत नभएपछि भट्ट अमेरिका उडेका थिए । त्यसपछि गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा गराएर पौडेललाई गभर्नर नियुक्त गरिएको थियो।

गभर्नर कार्यालयमा डा. प्रकाशकुमार श्रेष्ठ थिए। उनी केही समयदेखि राष्ट्रिय योजना आयोगमा सदस्य छन्। उनी शनिबारबाट राष्ट्र बैंकबाट अवकाशसमेत भइसकेका छन्। आर्थिक अनुसन्धान विभागमा डा.रामशरण खरेललाई लगिएको छ। अघिल्लो महिना मात्र उनी निर्देशकबाट बढुवा भएर कार्यकारी निर्देशक भएका थिए। आफूले दिएको राजीनामा एक महिनासम्म पनि अस्वीकृत भएपछि भट्टले वैशाखको तलब फर्काइदिएका थिए ।