चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रमुख पर्यटकीय गन्तव्य श्रीअन्तुमा विशेष कार्यक्रमका साथ राष्ट्रिय भेला सम्पन्न गरेको छ।
जेठ ७ र ८ गते आयोजित दुईदिने कार्यक्रममा चलचित्र पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका सात जना पत्रकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको थियो।
पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ तथा ‘पुरस्कार तथा सम्मान वितरण समारोह’ सञ्चालन गरियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
समारोहमा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ (रु. ५५,५५५ नगदसहित), विष्णु सुवेदी र नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवन कुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. ५१,००० नगदसहित) प्रदान गरिएको थियो। त्यस्तै, रश्मि थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसी प्रसाद निरौलालाई कोसी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. २५,००० नगदसहित) प्रदान गरिएको थियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेत्रीहरू वसुन्धरा भुसाल र गौरी मल्ल, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, कलाकार सङ्घ अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठलगायत थुप्रै विशिष्ट अतिथिहरू र देशभरबाट आएका चलचित्र पत्रकारहरूको उपस्थिति थियो।
श्रीअन्तुको मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्दै सहभागी पत्रकारहरूले उक्त क्षेत्रलाई चलचित्र छायाङ्कनका लागि उपयुक्त खुला स्टुडियोको रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेलाको व्यवस्थापन चलचित्र पत्रकार सङ्घ नेपाल कोसी प्रदेश शाखाको संयोजनमा इलाम, झापा, मोरङ र सुनसरी शाखाहरूले गरेका थिए। सङ्घका महासचिव रघुनाथ सापकोटाका अनुसार कार्यक्रम अन्तरगत सिनेमा पर्यटन महोत्सव, कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो।
प्रतिक्रिया