काठमाडौं । गणतन्त्र दिवसको दिन अर्थान् जेठ १५ गते राजधानीमा राजावादी र एमाले कार्यकर्ता आमने–सामने हुने भएका छन् । गणतन्त्र घोषणा भएकै दिन जेठ १५ गते राजावादीहरुले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सत्तारुढ एमालेले पनि सोही दिन राजधानी कब्जा गर्ने तयारी गरेपछि राजावादीमा खैलाबैला मच्चिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले कार्यकर्ताहरुलाई निर्देशन दिँदै जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुनुपर्ने बताएका हुन् । सोही दिन राप्रपाको नेतृत्वमा राजावादीहरुले आन्दोलन गर्ने र एमालेले सोही दिन गणतन्त्रका पक्षमा प्रदर्शन गर्ने घोषणा गरेपछि चैत १५ को तीनकुने काण्ड दोहोरिने भय उत्पन्न हुने भएको हो ।
सरकार मौन बसेको बेला राजावादीहरुको फुर्ति बढेकाले एमाले ढ्याङग्रो लिएर मैदानमा उत्रिएपछि उनीहरु आफैँ दुलोभित्र पस्ने प्रधानमन्त्री ओलीको दाबी छ । ‘जनता र सरकार मौन बसेको बेला उनीहरुले फाइदा लिएर अलिअलि फुर्तिफार्ती बढाएका छन्, तर जति फुर्ति लगाए पनि काम छैन’, उनले भने, ‘तन्त्रमन्त्र गरे पनि, अक्षता मन्साए पनि केही हुँदैन, ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रेपछि आफैं दुला दुला पस्छन् ।’
आइतबारदेखि सुरु भएको पार्टी निकट वडाध्यक्षहरुको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगामीहरुको प्रतिवाद गर्न एमाले पनि सडकमा उत्रिन आवश्यक पर्नसक्ने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । ‘जेठ १५ गते दिनभर काठमाडौँमा साथीहरु तयारी अवस्थामा बस्नुपर्छ, को कसरी अगाडि बढ्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टोकलको कुरा हुँदैन, आवश्यक परेपछि एक भएर अघि बढ्नुपर्ने हुन्छ,’ उनले भने ।
प्रतिक्रिया