काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवस । सरकारले त्यस दिन सार्वजनिक बिदासमेत दिएको छ । जेठ १५ गतेकै दिन सरकारले आगामी आर्थिक वर्षको आय–व्यय (बजेट) संसदमार्फत ल्याउने गरेको छ ।
तर यसपटक भने जेठ १५ अलि फरक देखिने निश्चित छ । नेपालमा गणतन्त्र स्थापना भएको दिन पारेर राजावादीले आन्दोलन सुरु गर्ने घोषणा गरेपछि एमालेले त्यही दिन विशेष ढंगले गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले जेठ १५ का दिन काठमाडौं तीन घन्टासम्म कब्जामा राख्न निर्देशन दिएका थिए । जुन अभिव्यक्तिले राजावादी कित्तामा हलचल मच्चिएको छ ।
प्रधानमन्त्री ओलीको निर्देशनलगत्तै एमाले जेठ १५ गते काठमाडौँ गर्ने कार्यक्रम सफल पार्न तयारीमा लागेको छ। एमालेले सोमबार जनसंगठन पदाधिकारीको बैठक राखेको छ। पार्टी कार्यालय च्यासलमा जारी एमाले महासचिव शंकर पोखरेलसहित तल्ला तहका पदाधिकारी पनि सहभागी छन्।आइतबार बसेको सचिवालय बैठकले सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो। यसमा सहभागिताका लागि एमालेले जनसमुदायलाई आह्वान पनि गरेको छ।
जेठ १५ का दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको छ। काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिने एमालेले जनाएको छ।
राजावादीले त्यसै दिन राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । आन्दोलनले गणतन्त्र उल्टाएर राजतन्त्र पुनःस्थापना गर्ने उनीहरूको दाबी छ ।
प्रतिक्रिया