देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, गृहमन्त्री लेखकबारे निर्णय आउने


काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने समसामयिक राजनीतिक विषय र पार्टीको क्रियाशील सदस्यताका विषयमा छलफल गर्न भन्दै सभापति देउवाले बैठक बोलाएको जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि पनि प्रश्न उठेपछि बसेको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा गृहमन्त्री लेखकसमेत सहभागी छन् ।

कांग्रेसभित्र मन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला बसेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ । यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका थिए । नेता कृष्ण सिटौलाले भने कर्मचारी मुछिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने बताएका थिए ।

गृहमन्त्रीले राजीनामा दिनु पर्ने नपर्ने विषयमा दुईथरी मत देखिएको छ । संस्थापन पक्ष लेखकले गृहमन्त्रीबाट राजीनामा दिनु नपर्ने पक्षमा उभिएको छ । शेखर कोइराला समूहका राजेन्द्र बजगाई र सुनिल शर्मा मात्र लेखकले मन्त्री पदबाट राजीनामा दिनुपर्ने पक्षमा छ । शेखर पक्षकै युवा नेता गुरुराज घिमिरे गृहमन्त्रीमाथि आरोप लाग्दैमा राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । कांग्रेस बैठकले गृहमन्त्री लेखकले मार्गप्रशस्त गर्नुपर्ने या नपर्ने भन्नेमा औपचारिक धारणा बनाउने भएको छ ।