लन्डन । बेलायतको लिभरपुल सहरमा भयानक दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । एक व्यक्तिले आफ्नो कारले फुटबल फ्यानलाई किचेका हुन् ।जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ । २० जनाको घटनास्थलमै उपचार गरिएको थियो ।
उनीहरू प्रिमियर लिगमा लिभरपुल फुटबल क्लबको जितमा विजयी परेडमा सहभागी भएका थिए । स्थानीय प्रहरीका अनुसार सोमबार साँझ स्थानीय समयअनुसार करिब ६ बजे वाटर स्ट्रिटमा कारले धेरै पैदलयात्रीलाई ठक्कर दिएको थियो । सो घटनामा संलग्न ५३ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । मिडिया रिपोर्टका अनुसार यस परेडमा करिब १० लाख मानिस सहभागी थिए।
स्थानीय प्रहरीले एक विज्ञप्ति जारी गर्दै अभियुक्त लिभरपुल क्षेत्रमा बस्ने गोरा मानिस भएको बताएको छ । ‘हामी मानिसहरूलाई आज राती के भयो भनेर अनुमान नगर्न अपील गर्दछौं,’ प्रहरीले भनेको छ। प्रहरीले मानिसहरूलाई विचलित पार्ने भिडियो वा तस्बिरहरू अनलाइन सेयर नगर्न अपिलसमेत गरेको छ।
लिभरपुल रिभरसाइडका सांसद किम जोन्सनले भने, ‘दुर्घटनामा परेका सबै पीडितहरू सकुशल छन् र छिट्टै आफ्नो परिवारसम्म पुग्नेछन् भन्ने आशा राख्दछु।’
बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो घटनालाई स्तब्ध पार्ने बताएका छन् । ‘लिभरपुलका तस्बिरहरू भयानक छन्, मेरो संवेदना घाइतेहरु सँग रहेको छ। मलाई घटनाको पूर्ण जानकारी दिइएको छ। प्रहरीलाई अनुसन्धानका लागि आवश्यक समय र स्थान दिन जनतालाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।
प्रतिक्रिया