काठमाडौं । प्रधानमन्त्री केपी ओली समयको व्यस्तता भन्दै राष्ट्रिय मानव अधिकार आयोगको २५औं वार्षिकोत्सव अनुपस्थित भएका छन् । आयोगको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि सुनिश्चित गरी निम्तो दिइए पनि ओली उपस्थित भएनन् ।
आयोगले सोमबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको भनाइमा टिप्पणी गरेको थियो। प्रधानमन्त्रीले एमाले नेता कार्यकर्तालाई जेठ १५ गते काठमाडौं तीन घन्टासम्म नियन्त्रणमा लिन गरेको आग्रहलाई आयोगले उत्तेजनापूर्ण भनेको थियो। सोही कारण मंगलबार बिहान आयोजित औपचारिक कार्यक्रममा ओली नगएका हुन् ।
आयोगले १५ दिनअघि नै प्रधानमन्त्री ओली पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको थियो । तर, कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने पनि जानकारी गराइएन । कार्यक्रममा सरकारका मुख्य सचिव, सचिवहरूको उपस्थिति रहने गरी कार्यक्रम तय गरिएको थियो । तर सरकारका उच्चपदस्थ व्यक्ति कोही पनि उपस्थित भएनन्। आयोगले वर्षेनी प्रधानमन्त्रीकै उपस्थितिमा वार्षिकोत्सव मनाउने गरेको छ।
प्रधानमन्त्रीको निजी सचिवालयले भने मानवअधिकार आयोगको कार्यक्रम बिहान चाँडै भएकाले जान नसकिएको जनाएको छ।
प्रतिक्रिया