काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने मुखमै भिजिट भिसा प्रकरण चर्किएपछि गृहमन्त्री रमेश लेखकको पद धरापमा परेको छ । पदबाट राजीनामा दिउँ त भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको आशंकालाई बल पुग्ने, नदिउँ त संसदबाट बजेट आउन नसक्ने अवस्था सिर्जना भएपछि लेखक दोहोरो तनावमा परेका हुन् ।
रास्वपालाई सभापति रवि लामिछानेलाई जेल हालेको रिस, माओवादीलाई सत्ताबाट हटाएको कुण्ठा त राप्रपालाई राजा ल्याउने छटपटीको भुंग्रोमा लेखक पिल्सिएका छन् । अध्यागमन विभागका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आयो भने यो नजिरले भविष्यमा कोही पनि गृहमन्त्रीले सजिलै काम गनर्न नपाउने निश्चित छ । भोलि जोसुकै गृहमन्त्री बने पनि विवादमा तानिने अवस्था आउने देखिन्छ । किनभने प्रधानमन्त्रीपछि गृहमन्त्रीमा चार्म धेरै छ । स–साना कुरामा पनि गृहमन्त्री जोडिने गर्छन् ।
आफ्नै कारणले बजेट नआउने अवस्था सिर्जना हुँदा राम्रो सन्देश नजाने भन्दै लेखकले राजीनामाको मुड बनाएको उनी निकट स्रोतले जनाएको छ ।
अमेरिकाले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई र उनकी पत्नीको अमेरिकाको भिसा रद्द गरेको छ। भिजिट भिसा तस्करी काण्डमा त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख भट्टराईलाई गत बुधबार अख्तियारले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अमेरिकाले भट्टराई श्रीमान् श्रीमतीको नाममा जारी भिसा रद्द गरेको हो । मानव तस्करीलाई विश्वमै खराब अपराध मानिन्छ।
प्रतिक्रिया