काठमाडौं । रुपन्देहीको बुटवलमा एक महिलासहित दुई बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्यालको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ ।
‘धारिलो हतियार र हथौडा प्रयोग गरेर तीनजनाको हत्या गरिएको छ। थप अनुसन्धान हुँदै छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले भने । कोइराला आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आममाफी पाएर छुटेको व्यक्ति रहेको स्थानीयले बताएका छन्। डिभोर्स भएर अर्कैसँग विवाह गरी बसेकी पूर्वश्रीमतीलाई कोइरालानले आफ्नै घरमा बोलाई बुधबार बिहान अन्दाजी ४ बजेतिर हत्या गरेका थिए। उनीहरुबीच करिब ८–१० वर्ष पहिले नै सम्बन्ध विच्छेद भएको प्रहरीले बताएको छ। दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन् ।
सुजन र दीपा पूर्वपति पत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकालतर्फका रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आरोपमा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
प्रतिक्रिया