काठमाडौं – आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार दिउँसो साढे ३ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आजैका लागि बैठक बस्ने गरी सूचना जार्ी गरेका हुन् ।
‘माननीय सदस्य आधा घण्टाको लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारण आजै दिनको ३ः३० बजे बस्ने गरी सम्माननीय सभामुखबाट निर्धारण भएको व्यहोरा अनुरोध छ,’ सभामुख घिमिरेको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
माओवादी, राप्रपा, रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरेपछि बुधबार बसेको बैठकको कामकारबाही अघि बढ्न सकेको थिएन । विपक्षी दलका सांसदहरु कुर्सीबाट उभिएर नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए ।
संसद् बैठक स्थगित गरेर सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर विपक्षी दलका सांसदहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएका छन् । तर रास्वपाले भने बिहीबार संघीय संसद्मा बजेट आउन दिन तयार भएका छन् । संसद् अवरुद्ध भइरहँदा बजेट नआउने हो कि भन्ने अन्योल थियो । तर विपक्षी दलहरू बजेट ल्याउन दिन तयार भएका छन् । बजेट आए पनि गृहमन्त्री लेखकले राजीनामा नदिए बजेटमाथिको छलफल हुन नदिने विपक्षी दलहरूको रणनीति छ ।
प्रतिक्रिया