बेलायतबाटै प्रदेश सांसदबाट राजीनामा पठाएकी गीता गुरुङको पद चैट, संसदले दियो जानकारी


काठमाडौं – लुम्बिनी प्रदेशसभा जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। प्रदेश सभाको बुधबारको कार्यसूचीमा उनी पदमुक्त भएको जानकारी उल्लेख छ।

‘माननीय प्रदेशसभा सदस्य गीता गुरुङको प्रदेशसभा सदस्य पदको स्थान रिक्त भएको सूचना माननीय सभामुखले सभालाई जानकारी गराउनु हुने,’ कार्यसूचीको दुई नम्बरमा भनिएको छ ।

श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङले वैशाख ३० गते राजीनामा दिएको सार्वजनिक गरेका थिए। गीताले इमेलमार्फत राजीनामा पठाएकी थिइन्। पछिल्लो समय बेलायत बस्दै आएकी उनी लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार पद रिक्त भएको घोषणा गरिएको हो। उनी समानुपातिक सांसद हुन्।

गीताका श्रीमान् दुई महिनाअघि मात्र जनमत छाडेर उपेन्द्र यादव नेतृत्वको पार्टी प्रवेश गरेका थिए । श्रीमानको दबाबकै कारण गीताले पदबाट राजीनामा दिएको अनुमान गरिएको छ । गीताले कामै नगरी जनताको करबाट तलबभत्ता बुझ्न अप्ठेरो भएकाले सांसद पदमा बसिरहन उपयुक्त नलागेको राजीनामा पत्रमा उल्लेख गरेकी थिइन् ।