काठमाडौं – कांग्रेस महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणबारे मुख खोलेका छन् । बुधबार कांग्रेस धरान उपमहानगर सम्मेलनमा उनले भिजिट भिसा प्रकरण अमानवीय भन्दै यस्तो कुकृत्यमा संलग्न जोसुकैलाई पनि कारबाही गर्नुपर्ने बताए ।
भिजिट भिसा प्रकरणले राजनीति नै तरल बन्दा पनि गगनले कहीँकतै केही नबोलेको भन्दै आलोचना भइरहेको थियो । यो विषयलाई लिएर गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकमाथि पदबाट राजीनामा दिन दबाब बढेको छ ।
‘राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरुले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले हामी सबैलाई स्तब्ध बनाएको छ,’ थापाले भने, ‘नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैह्रकानूनी त छँदैछन्, अमानवीय पनि छन् । यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन ।’
महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखलगायतमाथि अनुसन्धान थालेको उल्लेख गर्दै कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढंगले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताए । ‘कुनै अलमलमा नपरीकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँसम्म पुगोस् यसका जरा, हाँगाबिंगा सबै खोज्नुपर्छ,’ उनले भने ।
भिजिट भिसा प्रकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले गृहमन्त्री रमेश लेखकले पदबाट अलग भएर छानबिनलाई सघाउने उनले विश्वास गरे ।
‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ, कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दा माथि तथ्य र प्रमाण हुन्छ । भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ,’ उनले भने ।
प्रतिक्रिया