रास्वपाको कच्चा खेल, पहिले गृहमन्त्रीको राजीनामा माग्ने पछि भिजिट भिसामा ठगिएको प्रमाण देऊ भन्ने


काठमाडौं – राजनीतिमा आफूलाई वैकल्पिक शक्ति भन्दै आएको रास्वपा अझै परिपक्व बन्न नसकेको पछिल्लो उदाहरण भिजिट भिसा प्रकरणमा उसले लिएको अडान हो । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेको छ । जसकारण दुई दिनदेखि संसदको कामकारबाही अघि बढ्न सकेको छैन ।

गृहमन्त्री लेखकले पहिले आफूले बोल्न पाउनुपर्ने र चित्त नबुझे विरोध गर्नु भन्दै आएका छन् । भिजिट भिसा प्रकरणमा अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा परेपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दबाब बढ्दो छ । रास्वपाले यो घटनामा गृहमन्त्रीको पनि प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै आएको छ । अख्तियारले पनि अहिलेसम्म बलियो इभिडेन्स जुटाउन सकेको छैन ।

आयोगमा परेको उजुरीलाई आधार मानेर मात्र अख्तियारले भट्टराईलाई बोलाएर अनुसन्धान गरिरहेको हो । अख्तियारले अध्यागम विभागका अन्य कर्मचारीमाथि पनि छानबिन थालेको छ । तर अहिलेसम्म गृहमन्त्री लेखकका विषयमा कुनै प्रमाण जुटाउन सकेको पनि छैन । न त गृहमन्त्री लेखकले यति पैसा खाएर मान्छे विदेश पठाए भनेर नै भेटिएको छ । तर अख्तियारले भट्टराईलगायतसँग सोधपुछ गरेकै भरमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै सामाजिक सञ्जालदेखि मिडियामा एकोहोरो आवाज उठिरहेको छ ।

रास्वपाले पनि त्यसैले टेकेर गृहमन्त्रीको राजीनामा माग गरेको छ । तर प्रमाण जुटाउन सकेको छैन । बुधबार मात्र रास्वपाका सांसद सोविता गौतम, शिशिर खनाल, हरि ढकाललगायतले सामाजिक सञ्जालमा भिजिट भिसामा आफू ठगिएको प्रमाण देऊ भनेर आह्वान गरेका छन् । रास्वपाले पहिले प्रमाण जुटाएर त्यसपछि मात्र गृहमन्त्रीको राजीनामा माग्नुपर्ने हो । तर त्यस्तो भएको देखिएन । पहिले गृहमन्त्रीको राजीनामा माग्ने अनि पछि प्रमाण जुटाउन थाल्नुले रास्वपा कच्चा खेलाडी सावित भएको विश्लेषण हुन थालेको छ ।